जुनदिन
रातको नदीले उज्यालो बगायो
र, बेपत्ता भयो बिहानहरु ।

जुनदिन
पहाडबाट खस्यो पहाड जस्तै जिन्दगी
र,  निर्वासनमा हिंड्यो ।

जुनदिन
छाप्रोबाट आगो बोकेर निस्क्यो समय
र,  बस्ती उजाड भयो ।

जुनदिन
इतिहासले आफु हिंडेको बाटो बिर्स्यो
र,  दिशाहिन भयो ।

जुनदिन
विस्थापित भयो आफ्नै माटोबाट मानिस
र, ध्वस्त भयो सार्वभौम अस्तित्व ।

जुनदिन
मस्तिष्कबाट गायब भयो सम्पू
र्ण स्मृति
र, चेतनाको जंगलबाट उडेर गयो
असंख्य रंगीन चराहरु ।

जुनदिन
फुलसँग बन्दुकले सहवास गर्यो
र, जन्मियो अनौठो दृश्य ।

जुनदिन
राजनेताहरुले साट्यो भ्रष्टहरुसँग आफ्नो अनुहार
र, सुट्केसमा हाल्यो गाउँघर
खोलानाला ।

जुनदिन
सामुहिक बलात्कार गर्यो धर्तीलाई पिपासुहरुले
र,  हाम्रो आस्थाको टालोले पुछ्यो विकृत वीर्य ।

जुनदिन
यो मुलुकले संविधान लेख्यो
र, सीमान्तकृतहरुको पन्ना छुट्यो ।

जुनदिन
चोरले पुलिसलाई समात्यो
र, भट्टी पसलमा रक्सी खायो ।

जुनदिन
धमिरा पस्यो कानुनको किताबमा
र, गर्भवती भयो ।

जुनदिन
प्रतिपक्षीले भत्तावृद्धि अध्यादेशमा ताली पिट्यो
र , मौन बस्यो ।

जुनदिन
आम सपनाहरुको मृत्यु भयो
र, शासकहरु मस्त निदायो ।

जुनदिन
मतपेटिकाहरुबाट अपहरणमा पर्यो मान्छेहरुको अधिकार
र, लुटेराहरु सिंहदरबारमा प्रवेश गर्यो ।

जुनदिन
नष्ट भयो विचार
र, खल्लास भयो सिद्धान्त ।

हो
त्यहि दिनदेखी पतन भएको हो
यो राज्य !

सम्बन्धित खवर

Stay Connected

Advertisement