काठमाडौं । गण्डकी प्रदेश कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा पण्डितले संजीवनी महिला सहकारीलाई राष्ट्रिय स्तरमा लैजान सहयोग गर्ने बताउनु भएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा रहेको संजीवनी महिला कृषि सहकारीले आयोजना गरेको नयाँ वर्ष २०७६ को शुभकामना तथा चियापान कार्यक्रममा प्रमुख पण्डितले तालिम केन्द्रको रुपमा संजीवनीलाई स्थापित गराई राष्ट्रिय स्तरमा नै पहिचान बनाउन सहयोग गर्ने बताउनु भएको हो । कार्यक्रममा उहाँले नयाँ वर्षमा नयाँ विषयको अठोट गरी कुनै पनि एउटा काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख पण्डितले आफु कृषि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको बताउँदै धेरै थोरै रहेको जमीनमा सबैले उब्जनी गरे कृषिको पाटोलाई केही हदसम्म भएपनि उन्नती तर्फ लैजान सकिने दाबी गर्नुभयो । उहाँले हामीले जसरी हाम्रा बच्चालाई स्याहार सुसार गछौं त्यस्तै विरुवालाई पनि गर्नुपर्ने हुन्छ । विरुवालाई सम्मान गरे विरुवाले पनि सम्मान गर्छ भन्दै कुनै पनि प्राविधिक ज्ञानको आवश्यक परेमा आफुलाई सम्झन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा संजीवनी महिला कृषि सहकारीका सल्लाहकार सरिता शिबभक्तिले कृषिसँग मानवको सम्बन्ध अनन्य रहेको बताउनु भयो । उहाँले जीवन निर्वाहको लागि कृषिको महत्वपूर्ण भूमिका रहेकोले यस क्षेत्रमा सबैलाई लाग्न प्रोत्साहन समेत गर्नुभयो । कार्यक्रममा शिबभक्तिले संजीवनी कृषि सहकारीले नाम अनुसारको काम पनि गरिरहेको बताउँदै अझै सहकारीको उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो ।

संजीवनी महिला कृषि सहकारीका अध्यक्ष पुजा नेपालले शुभकामना आदान–प्रदान कार्यक्रममा सहकारीका सदस्यलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिनुभयो । सहकारीका सदस्यलाई काक्रो, घिरौला, करेला, तनेबोडीलगायतका विउविजन वितरण गरिएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका महिला संघसंस्था र समूहहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement