काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक यातायात व्यवसायी समितिका नव निर्वाचित अध्यक्ष रामकुमार चापागाईले हरेक व्यवसायी एक आपसमा हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनु भएको छ । काठमाडौंको ग्राण्डी होटलमा आयोजित अन्तर्राष्ट्रिय ब्राण्ड लुमन र कामना अटोमोटिभ प्रा.लि. आयोजक, त्रिशुल अटोमोवाइल ट्रेडर्स, ढुंगेअड्डा र लभकुश इन्टर प्राइजेज गुर्जुधारा सह–आयोजकले गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष चापागाईले नेपालमा हरेक व्यवसायीहरु माथि विभिन्न उल्झन र समस्या आइरहने हुँदा निराकरणको लागि एक भएर अघि बढ्न आग्रह गर्नुभएको हो । उहाँले नेपालको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रिय पूँजीको विकास गर्न घरेलु पूजिपति र व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा अटोमोटिभ प्रालिका अध्यक्ष तथा नाडाका केन्द्रीय महासचिव सुनिल रिजालले व्यवसायीहरुले रचनात्मक कार्य गर्दै अघि बढ्नु पर्ने र नीतिगत निर्णय गर्न राज्यलाई घच्घचाउनु पर्ने बताउनु भयो । व्यवसायी संघले प्राविधिक कुरा, आन्तरिक र बाह्य क्षेत्रमा हुने संभावना र चुनौतिलाई मध्यनजर गर्दै अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । उहाँले ड्राइभर व्यवस्थापक पनि भएकोले रोड सेफ्टी र योग ध्यान जस्ता कार्यक्रमद्वारा अनुशासनमा राख्नु पर्ने जिकिर गर्नुभयो ।

यसैगरी यातायात व्यवसायी समितिका सल्लाहकार तथा बेनीघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले ट्रिपर तथा ट्रक व्यवसायीमा चुनौति र संभावना दुवै उत्तिकै हुने भएकोले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले यातायात व्यवसायीको हकहितमा राज्यले खासै महत्व नदिएको समेत आरोप लगाउनु भयो ।

यसैबीच कार्यक्रममा हेभि इक्यूपमेन्ट महासंघका अध्यक्ष ताराबहादुर कुँवरले राष्ट्रिय अर्थतन्त्रमा व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले व्यवसायीको हित विपरित कुनै पनि कदम राज्यले चाल्न नहुने समेत स्पष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा लुमन माक्रेटिङ इण्डियाका डाइरेक्टर यानह्याड शेठ्ठीले नेपाल र भारतबीचको भाइचारा सम्बन्ध दर्शाउँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो कम्पनीले काम गर्दै आएको ध्यानाकर्षण गराउनु भयो ।

यसैगरी कार्यक्रममा नेपाल ट्रिपर तथा ट्रक यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष कृष्ण पन्त, निवर्तमान अध्यक्ष गणेशलाल श्रेष्ठ, त्रिशूल ग्रुपका फाउण्डर तथा नाडाका सदस्य राम पाठकलगायतको उपस्थिति रहेको थियो ।

समितिका निवर्तमान अध्यक्ष गणेशलाल श्रेष्ठले संस्था रहे मात्र हामी रहने, हामी रहे व्यवसाय रहने भन्दै सबै व्यवसायीलाई एक हुन पनि आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

Stay Connected

Advertisement