परम्परादेखि थामी आएको मानि आएको अति महत्वपूर्ण जात्रा हो कालिका भैरव जात्रा । भनिन्छ, भैरव नुवाकोटका थिए रे । नुवाकोट भैरव किचप्रिचिङ ग्रामको स्थानीय कालिका देवीलाई भेट्न आएछन्; भेटघाट कुराकानी गर्दागर्दै रात वितेको पत्तै भएनछ । गाउँको मानिसहरुले देख्लान् भनेर कालिका देवीले भैरवलाई घर छाएको कालो छ्वाली (बध्या)ले छोपेर राखिन् । रातमा भैरव उठेर जान खोज्दा रात धेरै छिपिसकेको र आजको रातमा यस गाउँमा आफ्नो जात्रा समेत हुने भएकोले जात्रा सकेर मात्र जान कालिका देवीले अनुरोध गरिन् । भैरवले कालिका देवीको भन्दा पहिला आफ्नो जात्रा हुने भए आफु बस्ने अन्यथा जाने भनी घुर्की लाएपछि पहिला भैरवको जात्रा गर्ने गरि सहमती भयो । सोही बमोजिम भैरव कालिकाको जात्रा प्रारम्भ हुन थाल्यो । त्यसअघि कालिका जात्रा मात्र हुने गर्दथ्यो । हुन त यो एक किम्वदन्ती मात्रै हो । तर, यस प्रसंगले रोमाञ्च भने थपेको छ ।

राष्ट्रिय रुपमा नेपालमा विभिन्न चाडहरु मनाउने गरिन्छ । ति चाडहरुको आ–आफ्नै मौलिक विशेषताहरु छन् । त्यस्तै महत्वपूर्ण विशेषता बोकेको चाड हो कालिका भैरव जात्रा । पाशाचःह्रे पूजा वा पिशाच चतुदर्शी (चैत्र कृष्ण चर्तुदशी) का दिन देखिनै विभिन्न स्वरुपमा यो जात्राको थालनी हुन्छ । केही प्रशंगहरु लोप भइसकेका छन् भने केही यथावत छन् । ‘चर्तुदशीका दिन राति शंकरको पूजा र उत्सव हुन्छ । राति निकुम्भले शंकरको पूजा गर्छ, त्यसैले निकुम्भको सम्मान गरिनुपर्छ र गोठ, खोला, बाटा, टाकुरा आदिमा पिशाचहरुलाई बलिदिनुपर्छ । मिठा मिष्ठान्न भोजन खुवाउनुपर्छ । पिशाचहरुको मालिक निकुम्भको पनि पूजा गर्नुपर्छ ।’ यस्तो शास्त्रीय मान्यता छ । यो रात घरबाट बालबालिकालाई बाहिर नल्याउने र उनीहरुको सुरक्षा गर्ने प्रचलन छ । शैव सम्प्रदाय अन्तरगत मुख्यतः महर्जन समूदाय (ज्यापु) ले यो पुजा गर्ने प्रचलन छ । गौरीको अंश कालिका, शिवको अंश भैरवको प्रतित हुने यो पूजापछि लगत्तै चैत्रकृष्ण औंशीका दिन जुन दिन राष्ट्रिय पर्वको रुपमा घोडेजात्रा मनाउने प्रचलन छ । घोडेजात्राको दिन राति जागराम बसी कालिका भैरवको रथ नचाई विभिन्न देवी देवताको पूजा गरिन्छ । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ (किसीपीडी) किचप्रिचिङ ग्रामको उत्तरपट्टि (हाल त्रिभुवन राजपथ भन्दा डेढसय मिटर तल) जहाँ दाहसंस्कार गरिने चिहान (दीप) छ । सोही नजिक उत्तरमा पाटी, चौरमा सानो पर्खालले घेरिएको पश्चिमाभिमुख कालिका देवी पीठ छ । पूजा गरिएका शिलाहरुका साथै शिलालेखहरु पनि छन् । आकर्षक, कलात्मक तोरण मुर्ति त्यहा देख्न सकिन्छ । यो फाँटमा अवस्थित कालिकास्थन (पिंग) को प्रांगणबाट रथ यात्राको थालनी हुन्छ । प्रतिपदाको दिनै भरी र राति अबेरसम्म भब्य उत्सवका साथ गाउने, नाच्ने अनि विभिन्न बाजा बजाई यो जात्रा गरिन्छ । यसलाई जात्राको सांस्कृतिक तथा धार्मिक पक्षको रुपमा लिन सकिन्छ ।

औंशीको भोलिपल्ट शुल्क प्रतिपदा तिथि अर्थात् संवत्सर प्रतिपदा अझ भनौ तिथि अनुसारको नयाँ साल । नयाँ (आउने) सालको स्वागत र गएको (जाने) सालको विदाई गर्दै औंशीको मध्यरात (इभ) देखि नै भब्य उत्सवका साथ यो जात्रा मनाइन्छ । नयाँ सालको स्वागत गरिन्छ तसर्थ भन्न सकिन्छ यो कालिका भैरव जात्रा सम्वतसर जात्रा हो । तिथिको आधारमा यसै चैत्र शुक्ल प्रतिपदा देखि नयाँ वर्षको प्रारम्भ हुन्छ । विक्रमादित्यले समेत यसलाई नै निरन्तरता दिएका थिए । वि.सं. १९६१ सालमा चन्द्रशम्शेरले सरकारी लेखपढमा तिथिको ठाउँ गतेले लिने नियम बसाले पश्चात संवत फिर्ने दिनलाई नयाँ सालको पहिलो दिन मान्ने चलन चल्यो जुन वैशाख १ लाई लिइन्छ । त्यस भन्दा पहिला चैत्र शुक्ल प्रतिपदा कै दिनबाट नयाँ वर्षको थालनी हुन्थ्यो । नेपालमा नयाँ वर्ष मनाउने चलन छ, तर, तिथिकै आधारमा नयाँ वर्ष मान्ने जिउँदो इतिहास बोकेको जात्रा हो कालिका भैरव जात्रा । यसलाई जात्राको वैज्ञानिक पक्षको रुपमा लिन सकिन्छ ।

प्रकृति र संस्कृतिसँगको यो मेल साँच्चै नै तिलस्मी छ । यसै समयमा बोटविरुवाहरुमा पालुवा चढ्ने, चराचुरुङ्गीको मधुर आवाज सुनिने, विभिन्न स्थानमा ढुंगा रसाई मुल फुट्ने, ढकमक्क फुलिरहेका बहुरंगी फुलहरुको सुवासले मन्त्रमुग्ध बनाउदै मानिसहरुको मनोभावनामा समेत उद्धेलित बनाउने गर्दछ यो बसन्त ऋतुको आगमन । बसन्त ऋतुको आवागमनसँगै ऐतिहासिक तथा सास्कृतिक महत्व बोकेको कालिका भैरव जात्राको शुभारम्भ हुनुले नयाँ वर्षको अनुभूतिका साथै जनमनमा नयाँ फरक जोश ल्याउँदछ ।

प्रस्तुति : रविन्द्र रिजाल

सम्बन्धित खवर

Stay Connected

Advertisement