सामाजिक कार्यमा रुची राख्ने राजेन्द्र केसीको मिति २०२८-१२-१८ गते जन्म भयो । पिता टीकाराम केसी र माता सानुमैया केसीको लालनपालनमा हुर्केका केसी भीम प्रा.वि. (हाल भीम उच्च मा.वि.) बाट कखरा सुरु गर्नुभएको थियो । कानून विषयमा स्नातक गर्नुभएका केसी जनपक्षीय न्यायको आवाज उठाउँदै अघि बढ्ने शिलशिलामा २०७३ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट भारी मत ल्याइ निर्वाचित हुनुभयो । वडा अध्यक्ष भएपछि वडा र नगर समृद्धिको लागि उहाँको कस्तो भूमिका रहयो यही विषयमा केन्द्रीत रहेर आर्ष नेपालका लागि चन्द्रागिरि नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजेन्द्र केसीसँग ज्ञानेन्द्र महतले गरेको कुराकानी ।

 

१. तपाई वडा अध्यक्षमा निर्वाचित भए पश्चात आजकोे दिनसम्म भएका सबैभन्दा उपलब्धी पूर्ण कार्य के के हुन् ? यसबाट तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?

– स्थानीय सरकारको निर्वाचन २०७४ वैशाख ३१ मा म निर्वाचित भएपछि यहाँ भएका सम्पूर्ण बाटोघाटोको स्तरोन्नती गर्ने भनि पहिलो योजना बनाइयो । सोही योजना अनुरुप इन्द्रदह जाने बाटोलाई दुई ठाउँमा करिब करिब १५० मिटर बराबर ढलान गर्यौ । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक हिसाबले मध्यनजर गर्दै यसलाई आधुनिकता दिनुपर्छ भन्ने लागेर महत्वपूर्ण इन्द्रदह क्षेत्रलाई विश्वमा चिनाउन र अहिलेको युवालाई समेत मध्ये नजर राखेर पाँच तले भ्यू टावर बनाउन ३९ लाख रुपैयाँ विनियोजन गर्यौ । २०७४ फागुन ९ गते हामीले दोस्रो इन्द्रदह पर्यटन उत्सव भब्य रुपमा मनायौ । सोही कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट भ्यूटावरको शिलान्यास गरायौं । भर्खरै तेस्रो इन्द्रदह पर्यटन महोत्सव पनि गर्यौ । त्यसको पनि प्रमुख अथिती सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो । त्यो भ्यू टावर अहिले तेस्रो तल्ला ढलानकोे क्रममा रहेको छ । त्यसको लागत १ करोड ६० लाख रहेको छ । यसपाली पनि यही भ्यू टावरलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छौं । भ्यूटावरको लागि यही क्षेत्रका माननीय सांसद कृष्णगोपाल श्रेष्ठज्यूले पनि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ५० लाख रुपैयाँ सिफारिस भएर अहिले १ करोडको काम भइरहेको छ । हामीले यस ठाउँलाई चिनाउन पर्छ भनि निरन्तर इन्द्रदह पर्यटन महोत्सव गरिरहेका छौं । प्रधानमन्त्रीको निर्देशन, वडाको अथक प्रयासमा यहाँ भएका मठमन्दिरहरुको जिर्णोद्वाराका कार्य सम्पन्न पनि ग¥यौ । जुन ०७२ सालको भूकम्पले भत्किएका थिए । पूरातत्व विभागका महानिर्देशक श्री भेषनारायण दाहालज्यूको अगुवाइमा जिर्णोद्वारको काम भएको छ । नारायणको मन्दिर, लक्ष्मी नारायणको मन्दिर, इन्द्रायणी मन्दिर, भस्मेश्वर महादेव, पोखरीको पुननिर्माण भइसकेको छ । अहिले पाटीको पुनर्निमाणको काम अन्तिम चरणमा पुगेको छ । काजी कालु पाण्डे समाधिस्थलमा गेट राख्ने काम पुरातत्व विभागले ग¥यो । पुरातत्व विभागको सहभागिता र प्रधानमन्त्रीको निर्देशनमा कालु पाण्डेको पूर्णकदको शालिक फागुन ९ गते प्रधानमन्त्रीबाट अनावरण भयो । सिर्जना चोक देखि गुरुङचाको पसलसम्म जाने लाइफ लाइनको रुपमा रहेको बाटोको स्तरोन्ती गर्न सफल भयौं । काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कलंकी घ्याम्पेडोल नागढुंगा सडकलाई मेरै पहलमा चिठीपत्र लेखेर खाल्डाखुल्डी पुर्ने र पीच गर्ने काम भयो । लगभग दुई वर्षको अवधिमा आफुले गरेको काम र अरुबाट पाएको फिडब्याक र कुनै गुनासो नआउने गरि काम गरेको हुनाले आफु एकदमै सन्तुष्ट छु ।

विधान सभाले ८ वटा विधान पारित गरेको छ । हामीले गत वर्ष पनि केही विधानहरु पास गरिसकेका छौ । अझै पनि ८–१० वटा विधानहरु नगरसभामा प्रस्तुत गर्ने योजना छ । विधान बनाउने क्रममा आफू वडा अध्यक्ष र कानूनको विद्यार्थी समेत भएको हैसियतले विधान बनाउँदा आफु विधान समितिमा नभए पनि भाग लिन पाए ।

२. चैत्र १ गते नगरसभा (विधान सभा) सकियो, त्यहाँ के कस्तो महत्वपूर्ण निर्णय भयो, तपाईको भूमिका कस्तो रहयो ?

– चन्द्रागिरि नगरपालिका एउटा स्थानीय सरकार हो । यो स्थानीय सरकारको कार्यपालिकामा २५ जना हुनुहुन्छ । अन्य निर्वाचित सदस्यहरु नगरसभाको रुपमा छन् । नगरसभालाई हामीले चैत १ गते भब्यरुपमा सम्पन्न गर्यौ । जुन विधान सभाले ८ वटा विधान पारित गरेको छ । त्यो विधानमा हामीले निर्माण व्यवसाय ऐन, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, संस्था दर्ता विधेयक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, फोहोर महिला व्यवस्था ऐन, स्थानीय स्वास्थ्य सेवा सम्बन्धी विधेयकलगायतका विधानहरु पास भएका छन् । हामीले गत वर्ष पनि केही विधानहरु पास गरिसकेका छौ । अझै पनि ८–१० वटा विधानहरु नगरसभामा प्रस्तुत गर्ने योजना छ । विधान बनाउने क्रममा आफू वडा अध्यक्ष र कानूनको विद्यार्थी समेत भएको हैसियतले विधान बनाउँदा आफु विधान समितिमा नभए पनि भाग लिन पाए । विधान बनाउँदा मैले महत्वपूर्ण सुझाव दिए । हाम्रो चन्द्रागिरिलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने खालका विषयहरु विधानमा समेटिएको छ ।

३. तपाईको वडामा ऐतिहासिक, सास्कृतिक र पर्यटकीय स्थान के–के छन्, थप विकासका योजना के बनाउनु भएको छ ?

– हाम्रो वडा पहिले देखि नै चर्चित वडा हो । मैले सुनेको, थाहा पाएको या तत्कालिन अवस्थामा माइला राजा पनि भन्थे, कताकता माली राजा पनि भन्छन्, उहाँको दरबार यही वडा कार्यालय नजिकै थियो रे । उत्खनन्को क्रममा इटाहरु भेटिएको प्रमाण छ । त्यहीसँग सम्बन्धित शिलालेख पनि छ । दहचोकमा तीन चार वटा शिलालेख भेटिनु त्यसको महत्वपूर्ण पक्ष हो । मालटार भन्ने ठाउँमा, मालटार पाटी निर र अर्को खहरे चोकभन्दा अलि पर ती शिलालेख छन् । त्यो शिलालेख संरक्षण गरेर राखेका छौं । त्यतिबेला देखि नै यो ठाउँ चर्चामा थियो । मल्लकालिन पाटेन राजा योग नरेन्द्र मल्लको पालामा नै इन्द्रदह क्षेत्रमा इन्द्रइन्द्रायणीको मन्दिर, पोखरी, पाटी बनेको थियो । जात्रा पनि भब्य रुपमा नै लाग्दथ्यो । इन्द्रजात्रा सुरु भएकै दिन यहाँ पनि जात्रा सुरु हुने र भोलिपल्ट हनुमानढोकाबाट बाजागाजासहित इन्द्रढोल ल्याएर इन्द्रदहमा स्नान गराएपछि मात्र नुहाउने चलन थियो । हामीले नौनी पूर्णिमाको रुपमा मान्दै आएका छौं । अहिले इन्द्रढोल आउने क्रम बन्द भएको छ । जात्रा यथावत रुपमा चलिरहेको छ । नेपाल एकीकरणकै क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर विजयको लागि गोर्खाबाट धादिङको केवलपुर हुँदै सबैभन्दा नजिकको ठाउँ दहचोक रहेछ भनि रोजेका थिए । दहचोक डाँडो सामरिक महत्वको क्षेत्र भएको हुनाले सेना नायक कालु पाण्डेसहित सेनाहरु लिई पृथ्वीनारायण शाह यहाँ बसेका थिए । यहीबाट योजना बनाइ सन १८१४ मा कीर्तिपुर आक्रमण गरिएको थियो । कालु पाण्डेले यतिबेला युद्ध गर्ने समय भएको छैन भन्दा ‘त मर्न डराइस !’ पृथ्वीनारायण शाहले पाण्डेलाई भनेका थिए । गुरु पुरोहितको सल्लाह पनि युद्ध गर्ने बेला नभएको भन्ने नै थियो । सेना नायकमा विराज बखतीलाई बनाउने मनसुवा पृथ्वीनारायण शाहको थियो तर बखती भन्दा पनि पाण्डे चतुर भएका कारण कालु पाण्डेलाई काजीको कज्याइ दिएर, पाण्डेको नेतृत्वमा कीर्तिपुर लडाई गर्ने योजना बन्यो । सन् १८१४ जेठ १९ गते कीर्तिपुरमा आक्रमण भई छाड्यो । पहिलो युद्धमा १२ सय सैनिकसहित कालु पाण्डे मारिए । ‘यदि मेरो मृत्यु भएको खण्डमा गोरखाको दरबार, गोरखकाली माता, मनकामना सबैको दर्शन र काठमाडौं समेत देखिने गरी दहचोकमा समाधि गर्नु’ भनेको हँुदा पाण्डेको शिर दहचोकमा गाडिएको हो । शरीर कीर्तिपुरको भाजंगलमा नै गाडियो भन्ने विश्वास छ । यही समाधिस्थललाई नै पर्यटकीय क्षेत्रको रुपमा अघि बढाउने सोचले २०५५ सालमा तत्कालिन नेपाल सरकारले नेपाल भ्रमण वर्ष १९९८ मनाएको अवसरमा दहचोक महोत्सव मनायौं । त्यतिबेला संयोगले साविक दहचोक गाविस वडा ८ को अध्यक्ष म नै थिए । सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाज्यूसहित अन्य मन्त्रीज्यूहरु पनि सो उत्सवमा सहभागी हुनुभएको थियो । सुरुमा दहचोकलाई चिनाउन यो पहल गरिए पनि हामीले चिनाउन सकेनौ । नसक्दा नसक्दै पनि हामी लागि परिरहौं ।

सेडुल बनाएर काम नगर्नु नै हाम्रो पहिलो समस्या हो । कुन कामलाई कतिको प्राथमिकता दिने भन्ने विषय छुट्टाउन पनि सकिरहेका छैनौ । हाम्रो राजनीति पद्धति पनि त्यस्तै खालको छ । कसैले बोलायो त्यहाँ नगए मेरो भोटै घटिहाल्छ भन्ने हामीलाई चिन्ता छ । यस्तो खालको चिन्ता मलाई पनि छ अरुलाई पनि छ । यो पद्धति अन्त्य गरिनु पर्छ ।

२०७३ साल फागुन ९ गते तत्कालिन पूर्व प्रधानमन्त्रीको हैसियतले केपी शर्मा ओलीज्यू दहचोक आउनु भएपछि उहाँको नजरमा यो क्षेत्र प¥यो । त्यस्तै भर्खरै भएको महोत्सवलाई हामीले दहचोक महोत्सव भन्यौ, तर, ओलीज्यूले उत्सवको रुपमा थितिनै बस्यो भन्दिनु भयो । अहिले यहाँ फुटवयर निर्माण हँुदैछ । नेपाल सरकार सस्कृति तथा पर्यटन मन्त्रालयले सन् २०२० लाई मध्यनजर गर्दै पूर्वाधार विकासका सय वटा गन्तव्य मध्ये पहिचानको सूचिमा दहचोक पनि परेको छ । सो पूर्वाधार विकास कार्यको लागि अहिले ५० लाख रुपैयाँ छुट्टाएको छ । जसमध्ये १० लाखको पार्क निर्माण गर्नुपर्नेे, १० लाखको गोरेटो बाटो स्तरोन्नती गर्नुपर्ने र ५ लाखको शौचालय बनाउनु भन्ने छ । बाँकी २५ लाख रुपैयाँ यसको कार्य प्रगति पछाडि मात्रै पठाउने पर्यटन मन्त्रालयले जानकारी गराएको छ । कोतघर निर्माणको ठेक्का दिइसकेको छ । अब निर्माणको काम चाडै नै सुरु हुन्छ । त्यहाँका ५–६ वटा ऐतिहासिक गढीहरुलाई नेपाल सरकार रक्षा मन्त्रालय मार्फत गढीको सुरक्षा र पुनर्निमाण गर्ने भनिएको छ । अब त्यो चाडैनै होला । यस्तै झागाझिटीको लागि पनि विशेष योजना सोचिरहेका छौं ।

४. चन्द्रागिरि नगरको समृद्धीका लागि कुन–कुन पक्षमा सुधार गर्नुपर्ला ?

– नगरपालिकाको कुरा गर्दा सेडुल बनाएर काम नगर्नु नै हाम्रो पहिलो समस्या हो । कुन कामलाई कतिको प्राथमिकता दिने भन्ने विषय छुट्टाउन पनि सकिरहेका छैनौ । हाम्रो राजनीति पद्धति पनि त्यस्तै खालको छ । कसैले बोलायो त्यहाँ नगए मेरो भोटै घटिहाल्छ भन्ने हामीलाई चिन्ता छ । यस्तो खालको चिन्ता मलाई पनि छ अरुलाई पनि छ । यो पद्धति अन्त्य गरिनु पर्छ । मेयर साहेब कुन कार्यक्रममा जाने, उपमेयर कुन कार्यक्रममा जाने, प्रमुख प्रशासकीय अधिकृत कुन कार्यक्रममा जाने, वडा अध्यक्ष कुन कुन कार्यक्रममा जाने ? प्राथमिकताको सूचि बनाइ लिस्टिङ गरेर हामी हिड्न सक्यौ भने अधिकांश समय विकास, पूर्वाधार निर्माणलगायत व्यक्तिका समस्याको समाधानका लागि जान सकिन्थ्यो । मुख्य समस्या भनेकै सेडुल बनाएर काम गर्न नसक्नु नै जस्तो लाग्छ । यसमै सुधार ल्याउन आवश्यक छ ।

५. तपाईको अबको योजना के छ ?

– योजनालाई हामीले नैकाप देखि नै जोड्नु पर्छ । नैकाप हुँदै गुम्बा, गुम्बा हुँदै थाकल चौर जुन स्वीजरल्याण्ड चौरले प्रशिद्ध छ । त्यहाँ भवानी संस्थाको अगुवाइमा ०६८÷०६९ सालदेखि सुरु गरेर २०७२ सालमा सम्पन्न भएको विन्धबासिनीको मन्दिर छ । यो मन्दिरको २०७२ साल बैशाख १२ गते शिलान्यास गर्ने कार्यक्रम थियो । त्यतिखेरका उपप्रधानमन्त्री विजयकुमार गच्छदारबाट उद्घाटन गर्ने कार्यक्रम तय भएकोे थियो । स्वीजरल्याण्ड पार्कलाई नागार्जुन नगरपालिका वडा नम्बर ७ पनि छोएको छ । वनमन्त्री गोपाल राई र डा. हर्कबहादुर गुरुङको ताप्लेजुङमा विमान दुर्घटनामा मृत्युभएपछि उहाँहरुको सम्मानमा अर्धकदको सालिक नागार्जुन नगरपालिकामा बनेको छ । त्यसलाई पनि जोडेर माथि इन्द्रदहको क्षेत्रमा आइसकेपछि त्यहाँका मठमन्दिरहरु, कालु पाण्डे समाधि स्थल, मनकामना मन्दिरसम्म जोडेर दहचोकलाई पर्यटकीय गन्तब्यको हब बनाउन लागि परेका छौं । साथै वडा नम्बर १५ मा रहेको पार्क हुँदै तीनथाना विष्णुदेवीको मन्दिर देखि मच्छेनारायण जहाँ तीन तीन वर्षमा मेला लाग्छ त्यसलाई जोड्ने, मच्छेनारायण मन्दिर नजिकैको वनमा जहाँ शान्ति वाटिका र स्तुपा बन्दैछ त्यसलाई पनि जोड्ने, मातातीर्थ कुण्डबाट चन्दन भराटेश्वर हुँदै थानकोटको आदिनारायण मन्दिर जोड्ने, त्यहाबाट बाडभञ्याङको चण्डिभैरब हुँदै इन्द्रदहलाई जोड्ने, नैकापको फुटबल ग्राउड हुँदै कंकाली मन्दिर जोडी गुम्बा निस्केर स्वीजरल्याण्ड पार्क हुँदै नागार्जुन जोड्ने र सिंगो नगरलाई पर्यटन सक्रिटको रुपमा विकास गर्ने सोच बनाएका छौं ।

६. वडालाई समृद्ध बनाउने योजनासहित तपाईको थप धारणा के छ ?

– अझै हामीले तीन वर्ष काम गर्न बाँकी छ । बाँकी तीन वर्षमा जनप्रतिनिधि, कर्मचारी, सेना, पुलिस, बैंकिङ क्षेत्र, प्राइभेट क्षेत्रमा काम गर्ने सबैले हिजो अस्तिको भन्दा एक कदम अघि बढेर काम ग¥यो भने यो राष्ट्रमा चाडै नै समृद्धि आउँछ । हाम्रा छोरा नानीको पालसम्म कुर्नु पर्दैन । म पनि जसरी नि काम गर्छु । हामीले हिजो अस्तिकै पारामा काम ग¥यौ भने समृद्धि आउने वाला छैन । हाम्रै पालामा समृद्धी आइसकेपछि भावी पुस्ताका लागि युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, जानु पर्ने दिन आउने छैन । हामी युरोपियन, अमेरिकनलाई नै नेपालमा ल्याउँन सक्छौ । पर्यटन क्षेत्रले मात्रै पनि यो सम्भव छ । हालसालै म सिंगापुर भ्रमण गएको थिए । सिंगापुरको जनसंख्या जम्मा ५५ लाख रहेछ । देश पनि सानो रहेछ । तर, त्यहाँको जनसंख्या भन्दा चार भाग लगभग २ करोड पर्यटक आउँदा रहेछन् । हामी हिसाब गरौं त्यो देशले कति आम्दानी गर्ला ? सुरक्षाको हिसाबले कडा भएपनि त्यहाँ जाने जो कोहीले तुरुन्तै भिसा पाउने । हामी गाडी चढेर गएपनि प्लेन चढेर गएपनि भिसा पाइन्छ । त्यसबाट पाठ सिकेर नेपाली मोडलको सिस्टम बनाउन सक्यो भने पर्यटक भित्र्याउन सकिन्छ । हाम्रो अझै कतिपय क्षेत्रमा प्लेन नै पुग्दैन । देशमा भएका संभावित पर्यटकीय स्थानमा हप्ताको वा पन्ध्र दिनको एक पटक मात्र भएपनि पर्यटक पुर्याउन ध्यान दिनसक्नु पर्छ । अन्य राष्ट्रमा जग्गा जमीन सरकारको नाममा रहेको र जनताले सरकारसँग भाडामा लिएर काम गर्नुपर्ने व्यवस्था छ । त्यही भएर सरकारले चाहे अनुसारको काम गर्न सक्छ । इजरायल, मलेसियामा त्यस्तै देखियो । हाम्रो देशमा जग्गा जमीन सबै व्यक्तिको नाममा हुनाले सरकारले चाहेअनुसारको काम गर्न सकेको छैन । हाम्रो देश विकासमापछि पर्नुको मुख्य कारण नै यही हो । वडा विकास भए देश विकास स्वतः हुन्छ ।

सम्बन्धित खवर

Stay Connected

Advertisement